सुनचाँदीमा विलासिता शुल्क र भ्याट खारेज गर्न महासंघको माग

काठमाडाैं | पुस ८, २०८२

सुनचाँदीमा विलासिता शुल्क र भ्याट खारेज गर्न महासंघको माग

काठमाडौं:   नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायमा देखिएका विद्यमान कानुनी जटिलता र करका दरहरूमा सुधार गर्न माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । 


महासंघका अध्यक्ष किसान सुनारको नेतृत्वमा पुगेको प्रतिनिधिमण्डलले मंगलबार अर्थमन्त्री खनाललाई ध्यानाकर्षण पत्र बुझाउँदै उक्त माग गरेको हो ।


महासंघले प्रस्तावित कानुनको मस्यौदा र कार्यान्वयनका लागि तयार पारिएको प्रतिवेदन हस्तान्तरण गरेको छ । महासंघले लामो समयदेखि उठाउँदै आएका मागहरू र सरकारले पटक–पटक व्यक्त गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्न जोड दिइएको छ ।


महासंघले विशेषगरी मूल्य अभिवृद्धि कर (भ्याट) र २ प्रतिशत विलासिता शुल्कका सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था गर्न माग गरेको छ ।


सुनका गहना बिक्री गर्दा लाग्दै आएको विलासिता शुल्क व्यवसायी–व्यवसायीबीचको कारोबारमा नलगाई उपभोक्तालाई बिक्री गर्दा मात्रै लाग्ने गरी एक तहमा सीमित गर्न माग गरिएको छ । हीरा र रत्न पत्थरमा लगाइएको मूल्य अभिवृद्धि करलाई आगामी आर्थिक ऐनमार्फत खारेज गरी भ्याट नलाग्ने वस्तुमा समावेश गर्न सुझाव दिइएको छ ।


छिमेकी मुलुकको भन्सार दरलाई मध्यनजर गर्दै नेपालमा पनि सुनचाँदीको भन्सार महसुल दरमा समसामयिक समायोजन गर्न माग गरिएको छ ।


त्यसैगरी, वैदेशिक रोजगारीबाट फर्कने नेपालीले ल्याउने सुनको परिमाण विस्तार गरी सोको तथ्यांक राखेर बजारमा प्रवेश गराउने सहज व्यवस्था मिलाउन आग्रह गरिएको छ । नेपाली गहनाको आन्तरिक तथा बाह्य बजार प्रवद्र्धनका लागि नेपाल जेम एण्ड ज्वेलरी काउन्सिल स्थापना गर्न माग गरिएको छ ।


महासंघले सरकारलाई ऐनमा भएका अधिकार प्रयोग गरी तत्काल राहत दिन सकिने आधारहरू पनि सुझाएको छ । मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा ४२ र अर्थ सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक २०८२ को दफा १८ प्रयोग गरी करका दरहरू घटाउन वा छुट दिन सकिने महासंघको ठहर छ ।


त्यस्तै, पुराना गहना खरिदका लागि स्पष्ट कार्यविधि बनाउन र नेपाल राष्ट्र बैंकको सुन आयात सम्बन्धी २०६८ को कार्यविधिलाई परिमार्जन गरी खपतका आधारमा सुन उपलब्ध गराउन समेत ध्यानाकर्षण गराइएको छ ।


भेटमा महासंघका महासचिव निर बहादुर विश्वकर्मा, कोषाध्यक्ष गणेश प्रसाद विश्वकर्मा र कार्यालय प्रमुख राम महर्जनको उपस्थिति थियो । व्यवसायीका मागप्रति अर्थमन्त्री खनालले सकारात्मक चासो देखाएका छन्

काठमाडौं:  नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस ९ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा यही पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५औँ म...

थप पढ्नुहोस्

काठमाडौं:   काठमाडौं महानगरपालिकाको शिक्षा विभागले १०७ विद्यालयललाई सम्पर्कमा आउन सूचना सार्वजनिक गरेको छ । महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रुपमा सञ्चालनमा नरहेको पाइएपछि सम्पर्कमा आउन सूचना सार्व...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा आगामी माघ ९ देखि १७ गतेसम्म हुने छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा चार विदेशी क्लबसहित चौध टिमको सहभागित...

थप पढ्नुहोस्